अस्पताल जोगाउन हस्तक्षेप

0
23
Ad_Article_Top
Share

 

  • भक्तपुर : भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पताललाई भर्तीकेन्द्र नबनाइने स्पष्टीकरण दिएका छन्। उनले नगरपालिकाले अस्पताललाई भर्तीकेन्द्र बनाउन खोजेको भन्ने आरोपको पनि खण्डन गरेका छन्। अस्पतालमा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै नगरपालिकाले हस्तक्षेप गरी नगरप्रमुख प्रजापतिको अध्यक्षतामा समानान्तर व्यवस्थापन समिति गठन गरेको थियो।

नेपाल अर्बुदरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठकै अध्यक्षता रहेको अस्पताल व्यवस्थापन समिति हुँदाहुँदै नगरपालिकाले प्रमुख प्रजापतिको अध्यक्षतामा समानान्तर व्यवस्थापन समिति गठन गरेको हो। नगरप्रमुख प्रजापतिलाई आइतबार अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ र अस्पताल कर्मचारी कल्याण समितिका संयोजक शिवराम धुख्वाले स्वागत गरे। ‘यो कुनै कब्जा होइन। अस्पताललाई भर्तीकेन्द्र बनाउने पनि होइन’, नगरप्रमुख प्रजापतिले भने।

आर्थिक अनियमितताको आरोप लागेपछि अस्पताललाई जोगाउन नगरपालिकाले हस्तक्षेप गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिए। ‘सार्वजनिक सम्पत्ति हिनामिना गर्ने जोकोही कानुनी दायरामा आउनुपर्छ’, उनले भने, ‘नगरपालिकाले जनस्तर र कानुनी हिसाबबाट आर्थिक अनियमितता गर्नेलाई जनताबीच ल्याउनेछ।’

क्यान्सर अस्पताल जनताको सम्पत्ति भएको जिकिर गर्दै उनले अस्पताललाई कुनै व्यक्ति विशेषको कमाइ खाने भाँडो बनाउन नदिने प्रतिवद्धता पनि जनाए। कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले गरिब जनताले सस्तो र गुणस्तरीय उपचार पाउन भनेर आफू नगरप्रमुख हुँदा भक्तपुर नगरपालिकाले अस्पताललाई आवश्यक जग्गा प्रदान गरेको जानकारी दिए। ‘अस्पतालमा आर्थिक अनियमितता भएको बाहिर आएपछि त्यसलाई रोक्न नयाँ व्यवस्थापन समिति गठन भएको उनले बताए। नवगठित समितिले सांसद सुवाललाई सल्लाहकारमा राखेको छ।

छानबिन गर्न समिति

नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको व्यवस्थापन समिति बैठकले भ्रष्टाचार र आर्थिक अनियमितता भएको भन्ने बारे छानबिन गर्न समिति गठन गरेको छ। भक्तपुर नगरपालिका-९ का अध्यक्ष एवं समितिका सदस्य रवीन्द्र ज्याख्वको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. श्रेष्ठले जानकारी दिए। उनका अनुसार समितिमा अधिवक्ता अनिता जधारी र कृष्णगोविन्द लाखाजू सदस्य छन्।

मेडिकल डाइरेक्टर प्रा.डा. श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कर्मचारी नियमावली संशोधन गर्न छुट्टै समिति गठन गरिएको छ। ‘नयाँ व्यवस्थापन समितिको पहिलो बैठकले प्रक्रिया पूरा भएका कर्मचारीलाई स्थायी गर्ने निर्णय समेत गरेको छ’, प्रा.डा. श्रेष्ठले भने, ‘अस्पतालको सेवा समय बिहान ९ः०० देखि दिउँसो ३ः३० बजेसम्म तोकेको छ।’ अघिल्लो व्यवस्थापन समितिले ठेक्कामा दिएको सफाइ मजदुर व्यवस्थापन खारेज गरी अस्पतालमा कार्यरत ३७ जना सफाइ मजदुरलाई अस्पतालले कर्मचारीको रुपमा नियुक्ति दिएको छ।

‘हस्तक्षेप अवैधानिक’

   भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको दावी गरेको छ। समितिले पत्रकार सम्मेलन गर्दै अस्पतालजस्तो स्वायत्त संस्थामा नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको दावी गरेको हो। ‘भक्तपुर क्यान्सर अस्पताल गैरसरकारी, गैरनाफामूलक सामुदायिक अस्पताल हो’, व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले भने, ‘अस्पताल स्वायत्त संस्था हो। नगरपालिकाको हस्तक्षेप अवैधानिक छ।’ अध्यक्ष श्रेष्ठले मेडिकल माफियाको पक्षमा लागेर नगरपालिकाले गरेको हस्तक्षेप अस्वीकार्य भएको बताए।

अस्पतालमा रेडियोथेरापीको अत्याधुनिक लिनायक मेसिन सञ्चालनमा आएलगत्तै हस्तक्षेप गरिएबाट भक्तपुर नगरपालिका मेडिकल माफियाको पक्षमा लागेको पुष्टि भएको हुने उनले दावी गरे। तापनि आफूहरु वार्ता र सहकार्यबाट अस्पताललाई नियमित सञ्चालन गनए तयार रहेको बताए। अध्यक्ष श्रेष्ठले समस्या समाधान गर्न भक्तपुर नगरपालिका र नगरपालिकामा सतप्रतिशत प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी नेतृत्वसँग छलफल प्रक्रियाअघि बढाइएको बताए।

समितिका सदस्य विमलकुमार होडाले आफूहरु अस्पताल जान सक्ने अवस्था नरहेको सुनाए। ‘भक्तपुर नगरपालिका अस्पताल नै बन्द गर्ने गरी अघि बढेको छ’, उनले भने। पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका पदाधिकारीले मौजुदा व्यवस्थापन समिति आधिकारिक भएको र भक्तपर नगरपालिकाले गठन गरेको भनिएको समितिसम्बन्धी समाचारको भ्रममा नपर्न आग्रह पनि गरे।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here