राजपाबाट निर्वाचित बहुदरमाई नगरपालिकाका वडा अध्यक्ष तेली पक्राउ

0
1284
Ad_Article_Top
Share

 बहुदरमाई नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पुनिलाल साह तेली नक्कली नागरिकता काण्डमा पक्राउ परेका छन् । तेलीले भारतीय नागरिकलाई नेपाली नागरिकता, झूठो विवरणलाई सही ठहराई सिफारिस गर्नुका साथै सनाखत समेत आफूले गरी नागरिकता दिलाएको अभियोगमा उच्च अदालत जनकपुर वीरगञ्जले दोषी ठहर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र महुवन प्रहरी चौकीको संयुक्त टोलीले मंगलबार विहान वडाध्यक्ष तेलीलाई उनकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२०४८ सालको निर्वाचनमा रामनगरी गाविस अध्यक्ष पदमा निर्वाचित तेलीले आफ्नो छोरी ज्वाई भारतीय नागरिक विरेन्द्र कुमार साहलाई आफ्नो छोरा बनाएर पिताको ठाउँमा आफैले सनाखत गरी नागरिकता दिलाएको कुरा भिमराज सहनीले अदालतमा जाहेरी दिएपछि सो जाहेरी उपर छानबिन हुँदा वडाध्यक्ष पुनिलाल साह दोषी ठहर भएको हो ।
सो सम्बन्धमा उच्च अदालत जनकपुर अस्थायीका न्यायधिश राजेन्द्र खरेल र डिल्लीराज आचार्यको संयुक्त इजलासले २०७५ साल पुष १६ गते फैसला गरेको थियो । दोषी ठहर भइसकेपछि वडाध्यक्ष पक्राउ परेका छन् भने उनका ज्वाई भारत लतियाही पूर्वी चम्पारण विहार स्थायी घर भएका विरेन्द्र कुमार साह फरार छन् ।
वडाध्यक्ष साहले रापजाको टिकटमा वडाध्यक्ष पद जितेका हुन् । जाहेरकर्तालाई वडाध्यक्षका पक्षधरले ज्यान मार्ने धम्की दिएको भिमराज सहनीले बताएका छन् । वडाध्यक्ष पक्राउ पर्ने वित्तिकै उनका आफन्त र विभिन्न राजनीतिक दलका नेताहरुले प्रहरीमा दवाब दिने क्रम बढेको छ । जिल्ला प्रशासन र जिल्ला प्रहरीमा थेगी नसक्ने गरी दवाब दिन थालेपछि प्रहरीले साहको अर्को मुद्दा पनि तयारी अवस्थामा राखेको सुरक्षा श्रोतबाट थाहा भएको छ । तेली ज्यान मुद्दाका फरार अभियुक्त समेत रहेको कुरा श्रोतले जनाएको छ । दवाब दिन आउने नेताहरुले प्रहरी अधिकारीले तेलीको अर्को मुद्दा देखाएपछि भने उनीहरु हच्किएका छन् । पक्राउ परेका तेलीलाई प्रहरीले अदालत पेश गरेर म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here