संगठन बलियो बनाउँदै नेकपा : दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य

0
9
Ad_Article_Top
Share

 सत्तारुढ दल नेकपाले ‘आक्रामक’ संगठनात्मक योजना बनाउन लागेको छ । चार महिनाअघि संगठन विभागले नेतृत्व पाएपछि संगठनात्मक योजना बनिरहेको छ ।

दुई वर्षभित्र ३२ लाख पार्टी सदस्य बनाउने ‘महत्त्वकांक्षी’ योजना सहित संगठन विभागले कार्ययोजना तयार पारेको छ । विभागका संयोजक वामदेव गौतम र सहसंयोजक जर्नादन शर्माले तयार पारेको कार्ययोजना विभागका ५ सदस्यबीच एक चरण छलफल पनि भइसकेको छ ।

अब त्यो कार्ययोजना अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल समक्ष छलफलका लागि लगिने छ । पार्टीबाट पारित गराइ कार्यान्वयनमा लैजाने गरी तयारी भएको विभाग सदस्य हरि अधिकारीले जानकारी दिए ।

‘संगठन विभागले के–के काम कसरी गर्ने भन्ने कार्ययोजना बनेको छ, अब पार्टीका दुई अध्यक्षलाई देखाएपछि उहाँहरूको अनुमतिमा विभागले सदस्य परिचालन नीति बनाउँछ’, विभागका सदस्य अधिकारीले अन्नपूर्णसँग भने ।

नेकपाका झण्डै ७ लाख संगठित सदस्य छन् । तत्कालीन एमाले र माओवादी एकतापछि पार्टी सदस्यको अभिलेख राख्न विभाग जुटेको छ ।

विभागलाई पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्यको अभिलेख राख्ने र प्रमाणित गर्ने, आवश्यकता अनुसार सदस्य तथा संगठित सदस्यको स्थानान्तरण गर्ने, पार्टीका संगठित सदस्य र विभिन्न तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यको वर्गीय, जातिय, भाषिक, लैङ्गिक तथा प्रादेशिक प्रतिनिधित्त्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्नेलगायतका १२ वटा अधिकार पार्टी नियमावलीमा ब्यवस्था गरिएको छ ।

पार्टीका हरेक संगठित सदस्यले वर्षभरमा कम्तीमा ४ जना पार्टी सदस्य अनिवार्य बनाउनु पर्ने कार्ययोजनाले समेटेको छ । योजना अनुसार काम भए दुई वर्ष भित्र ३२ लाख पार्टी सदस्य पुग्ने छन् । ‘अहिले रहेको सदस्य संख्या दुई वर्षभित्र चारगुण बढी बनाउन पनि हरेक संगठित सदस्यलाई चार जना सदस्य बनाउनु पर्ने नियममा बाध्न खोजिएको हो’, विभागका एक नेताले भने । हरेक पार्टी सदस्यलाई कमिटी मातहात, अल्पमतलाई बहुमत मातहात राखिने योजना विभागको छ ।

पार्टी सदस्यता नवीकरणका लागि म्याद तोकेरै आन्तरिक सर्कुलर जारी गर्ने र म्यादभित्र तोकिएको शुल्क तिरेर नवीकरण नगरे पुनः सदस्यता नयाँ प्रक्रियाबाट लिनुपर्ने प्रस्ताव बनेको छ ।

पार्टी एकतायता पार्टी सदस्यको अभिलेख व्यवस्थित नहुँदा नियमित लेबी उठेको छैन । पार्टीका संघीय सांसदमा समेत सांसदमा अझै उसका दुई थरी लेबी छन्। तत्कालीन एमाले तर्फकाले मासिक १३ हजार माओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ लेबी बुझाउँदै आएका छन् ।

७ लाख पार्टी सदस्यबाट नियमित मासिक लेबी उठाउँदा ३ करोड ५० लाख रुपैयाँ हुन्छ । नेकपाले संगठित सदस्यलाई ५० र साधारण पार्टी सदस्यलाई मासिक २५ रुपैयाँ लेबीको ब्यवस्था गरेको छ। साधारण सदस्यबाट मासिक २५ रुपैयाँका दरले लिइने लेबीले अझ नेकपासँग मासिक लेबीबाट उठने आम्दानी बढी हुन्छ ।

पार्टी विधानले सदस्यता तथा संगठित सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कमिटीमा, २५ प्रतिशत सम्बन्धित प्रदेश कमिटीमा, २५ प्रतिशत सम्बन्धित जिल्ला कमिटीमा र १० प्रतिशत सम्बन्धित गाउँ वा नगर कमिटीमा रहने गरी ब्यवस्था गरेको छ । तर केन्द्रमा अहिले सम्म सदस्यता लेबी संकलन हुन सकेको छैन ।

विभागले फागुन–चैत भित्रै सदस्यता तथा संगठित सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना बनाएको छ । त्यो अवधिमा नवीकरण नगर्नेले नयाँ प्रक्रियाबाट सदस्यता लिनुपर्ने प्रवाधान राखिएको छ ।

विभाग सानो बनाउन प्रस्ताव

विभागले पार्टी नेतृत्वसँग संगठन विभागलाई सकभर सानो र चुस्त बनाउन पनि प्रस्ताव गरेको छ। यो प्रस्तावमा अध्यक्षद्वय ओली र दाहालसँग छलफल भइसकेको छ । पार्टी नियमावलीमा विभाग ३५ सदस्यीय सम्म बनाउन सकिने ब्यवस्था छ । तर विभागले १३ देखि १५ जना सम्मको मात्र विभाग गठनको प्रस्ताव नेतृत्वसँग गरेको छ ।

चुस्त र सानो विभाग बनाउन पार्टी नेतृत्वलाई प्रस्ताव गरिएको विभागका सदस्यले बताएका छन् । ३ साउनमा विभागले संयोजक र सहसंयोजक पाएको थियो । असोज २९ को सचिवालय बैठकले विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरी ५ सदस्यीय पुर्‍याइएको छ । नेकपाका अन्य विभागले संयोजक र सहसंयोजक मात्र पाएका छन् ।

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here