भीडभाड व्यवस्थापन गर्न नसकिएको कारण देखाउदै बैंकद्वारा समाजिक सुरक्षा भत्ता स्थगित

0
66
Ad_Article_Top
Share :


वीरगंज,बैशाख २३
वीरगन्ज महानगरका लाभग्राहीलाई सुरक्षा भत्ता वितरण गर्दै आएको कृषि विकास बैंकले आजदेखि भत्ता वितरण कार्य स्थगीत गरेको छ । बैंकले आज अचानक सूचना टाँसेर भता बितरण कार्य स्थगित गर्दा भत्ता रकम झिक्न बैंक पुगेका वृद्धवृद्धा, एकल महिला, अपाङगता भएका व्यक्ति निराश हुँदै घर फर्किएका छन्।बैंकको उक्त सूचनाबारे वडा कार्यालयमा खबर नगरिदिँदा लकडाउनमा गाउँबाट घण्टौं पैदल हिँडेर बैंक पुगेका असशक्त वृद्धवृद्धा, एकल महिला थप सास्ती खेप्न बाध्य भए।सोमबारसम्म भत्ता रकम वितरण गर्दै आएको घण्टारस्थित कृषि विकास बैंकको शाखाले भीडभाड व्यवस्थापन गर्न नसकिएकाले कोरोनाको संक्रमण फैलने जोखिम रहेको कारण देखाउँदै आजबाट भत्ता वितरण कार्य स्थगीत गरेको जनाएको छ । बैंकले टाँस गरेको सूचनामा महानगरपालिका र वडा कार्यालयसँग समन्वय गरी व्यवस्थित रुपमा भाइरस संक्रमणबाट बच्न सुरक्षात्मक उपाय अपनाइ निकट भविष्यमा नै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिने जनाइएको छ । बैंकका शाखा प्रबन्धक कोमल प्रसाद सिटौलाले सोमबारसम्म करिब १ हजार ५ सय जनालाई भत्ता वितरण गरिसकिएको र अब करिब ५ हजारलाई वितरण गर्न बाँकी रहेको बताए । अब १÷२ दिनमै महानगरपालिका र वडा कार्यालयसँग छलफल गरेर भत्ता रकम सकेसम्म लाभग्राहीकै घरमा र्पुयाउने विकल्प खोजीने सिटौलाले बताए ।वीरगन्ज महानगरपालिकाको ३२ मध्ये ग्रामीण भेगका ११ वटा वडा गरी ज्येष्ठ , दलित ज्येष्ठ , एकल महिला, आंशिक अपाङग, पूर्ण अपाङग र दलित बालबालिका गरी सामाजिक सुरक्षा भत्ताको सुविधा लिने ६ हजार ५ सय भन्दा बढी लाभग्राही छन् । वीरगन्ज महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम ,वीरगन्जमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयमा लक्षित सेवाग्राहीको नाममा खाता खोलेर त्यहि खाता मार्फत चार चार महिनामा उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको रकम झिक्न, लक्षित सेवाग्राही आफै बैंकमा पुग्नु पर्ने अनिवार्यता छ । यता वीरगन्ज महानगरका नगर प्रमुख विजय सरावगीले भने भत्ता वितरण कार्य रोकिएको विषयमा बैंकले महानगरलाई कुनै जानकारी नदिएको बताए ।
भीड व्यवस्थापनका लागि बैंकलाई सहयोग चाहिए महानगर तयार रहेको मेयर सरावगीले बताउनुभयो । उहाँले लागग्राहीको घर घरमै भत्ता रकम पुयाउने व्यवस्था मिलाउन आफूले बैंकलाई सुझाव दिइसकेको पनि मेयर सरावगीले बताउनुभयो ।


अन्नपुर्णपोष्ट

Ad_Article_Bottom

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here