मौद्रिक नीतिले निजी क्षेत्रलाई ऊर्जा थपेको छ – अनिल कुमार रूंगटा

0
174
Ad_Article_Top
Share :
meropathsala.com


वीरगंज,साउन १३

तीन दशकदेखि व्यवसायमा अनिल कुमार रूंगटाले ट्रेडिङ बिजनेसबाट सुरूआत गरेका थिए। अहिले उनी निर्माण सामग्रीदेखि पर्यटन क्षेत्रमा समेत संलग्न छन्। विशेष गरी उनले फलामजन्य उद्योगमा ठूलो लगानी गरेका छन्। रूंगटा नेपाली कांग्रेसले गठन गरेको लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिका सदस्य पनि हुन्। करिब ४ महिनाको लकडाउनपछि अहिले उद्योगधन्दा खुल्न थालेका छन्। कोरोनाले उद्योग क्षेत्रमा पारेका असर, लगायत विषयमा रूंगटासँग गरिएको कुराकानीको सम्पादित अंशः

कोरोनाका कारण नेपालमा लगानी तथा उद्यमशीलताको वातावरणमा कस्तो प्रभाव पार्‍यो?

कोरोना आउला, लकडाउन होला भन्ने सोचेको पनि थिइएन। यसले विशेषगरी दुइटा कुरा उठाएको छ। लामो बन्दले उद्योगधन्दा बन्द भए। विषेशगरी शिक्षा र पर्यटन क्षेत्रमा ठूलो असर पारेको छ। यो अझै पनि खुल्न सकेको छैन। कहिले खुल्छ भन्ने टुङ्गो पनि लागेको छैन।

उद्योग चलाउन नयाँ चुनौती थपिएको छ। प्राकृतिक परिस्थितिले अर्थतन्त्र एक्कासि रोकिँदो रहेछ भन्ने लकडाउनले देखाएको छ। समयअनुसार आएका चुनौती पनि सामना गर्नपर्छ भन्ने कुरा सिकाएको छ। लकडाउन अघि बैंकमा तरलता अभाव थियो। लकडाउन खुलेपछि अभाव छैन। यसले नेपाल आफैंमा अर्थतन्त्र चलाउन सक्ने शक्ति छ भन्ने प्रष्ट्याएको छ।

कोरोना प्रभावबाट बच्न सरकार, निजी क्षेत्र तथा समुदाय स्तरबाट भएका प्रयासबारे के भन्नुहुन्छ ?

सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गरे। सरकारले कोरोनाबाट बच्न सुरूमै लकडाउन गर्यो। यसबीचमा आयातमा कुनै समस्या भोग्न परेन। निजी र समुदाय स्तरबाट पनि सरकारलाई सहयोग नै भयो। राहतमा निजी क्षेत्रले पनि सहयोग गर्यो। कतिपय उद्योगीले बजारमा चिकित्सकका लागि आवश्यक पर्ने पिपिई बनाए। त्यो पनि ठूलो प्रयास हो।

महामारीसँग जुध्न हाम्रा सबै क्षेत्रको सक्षमता कस्तो रहेछ तपाईंको मूल्यांकन के छ?

हाम्रो पुस्ताले भोगेको यो समस्या नयाँ हो। यसरी हेर्ने हो भने यो प्रयास पनि ठूलो हो। तर सरकारी क्षेत्रबाट भएको प्रयास प्रभावकारी देखिएन। अहिले लकडाउन खुलाएको छ तर कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो छ। लकडाउनमा गरिनुपर्ने तयारी गरिएन। राहत वितरण र स्वास्थ्य चिकित्सकको राम्रो प्रबन्ध हुन सकेन। त्यसबाट नेपाली जनता राज्यबाट सन्तुष्ट छैनन्।

महामारीले तपाईंको व्यापार तथा लगानीको योजनालाई व्यक्तिगत रुपमा कसरी प्रभाव पार्योरु

अहिले विकासदर घटेको छ। उद्योगधन्दा मारमा परेका छन्। यसले हामीलाई २ वर्ष पर धकेलेको छ। फागुनदेखि जेठसम्म निर्माण काम हुने समय हो। आवासका लागि व्यक्तिगत घरदेखि, होटल, रेष्टुरेन्ट र सरकारी काम पनि यही समयमा बढी हुन्थ्यो। लकडाउनले त्यो सबै ठप्प भयो। व्यापार ठप्प भएपछि बैंकको व्याज, कर्मचारीको तलब व्यवस्थापनमा हामीलाई गाह्रो परेको छ।

तपाईंहरूकै लगानी भएको सिमेन्ट फ्याक्ट्रीले महामारीकै बीचमा १५ अर्ब लगानी थप गर्ने अनुमति पायो। भनेपछि तपाईंहरूको आत्मविश्वास उच्च नै रहेछ भन्ने बुझ्नुपर्यो?

लगानीको थप्ने कुरा भर्खरको होइन। दुई वर्षअघिको हो। अहिले यो स्वीकृत भएको छ। हामीले क्लिंकर प्लान्टका लागि लगानी थपेका हौं। यो अवस्था सामान्य भएपछि हाम्रो काम सुरू हुन्छ।

पछिल्लो समय नेपालमा निर्माण सामग्रीसँग सम्बन्धित कतिपय उद्योगहरुले व्यापारको सम्भावना धेरै छैन भन्ने गुनासो गरिरहेका छन्। यस्तोमा तपाईंहरूले भने झनै ठूलो लगानी गर्नुभएको छ। यसमा तपाईंको राय के होरु

लकडाउनले केही समस्या परेको छ। तर अब केही काम नै नहुने भन्ने होइन। अवस्था सामान्य भएपछि काम सुरू भइहाल्छ। हाम्रो उत्पादन आउन ४ महिना ढिला हुने मात्र हो। हाम्रो बजारमा पहुँच राम्रो र हामीले गुणस्तर सामान दिने भएकाले लगानी सुरक्षित छ भन्नेमा विश्वस्त छु।

कोरोनाले नयाँ क्षेत्रमा अवसर पनि ल्याएको छ भनिन्छ। स्मार्ट लगानीकर्ताले त्यस्तो अवसर छोप्न सक्छन् भन्ने विश्लेषण विश्वव्यापी रुपमा छ। तपाईंको हकमा यो कुरा कसरी लागू हुन्छ?

लकडाउन भएको बेलामा पनि केही वस्तु त अत्यावश्यक नै रह्यो। खाद्यान्न र औषधि र टेलिकम अत्यावश्यक वस्तु हो। यसमा थप लगानी गर्न सकिन्छ। त्यस्तै कृषि क्षेत्र। नेपालको लागि कृषि सबैभन्दा आकर्षण पूर्ण क्षेत्र बनेको छ। कृषिमा हामीले लगानी गर्न सक्यौं भने हामी आत्मनिर्भर हुन सक्छौं। पछिल्लो समय ठूला उद्योगी पनि कृषिमा आकर्षित भएको जस्तो लाग्छ।

विश्वमा अन्य देशमा जस्तो हामीले धेरै मानवीय क्षति व्यहोर्न परेको छैन। यसले हामीलाई प्राकृतिक रूपमा बलियो भएको देखाएको छ। हामीले केही भौतिक पूर्वाधार बनाउन सक्यौं भने बाहिरका धनाढ्य र विविध शास्त्रका रिटार्यड व्यक्तिहरू नेपाल बस्न आउन सक्छन्। त्यस्ता मानिसका लागि बाँकी जीवन यहाँ बिताउन सक्ने गरी रेसिडेन्सल कोलोनीका रूपमा बनाउन सक्छौं।

शिक्षा क्षेत्र पनि राम्रो अवसर छ। लकडाउन खुलेपछि कोही पनि बाहिर पढ्न जान्छन् जस्तो लाग्दैन। कोरोनाको त्रास सुरुवातमा जति थियो अहिले त्यति छैन। खतरा नघटे पनि त्रास भने कम भएको छ। अहिले जनताहरु कोरोनासँगै बाँच्न खोजिरहेका छन्। उद्योगधन्दा तथा व्यावसायिक वातावरण पनि यहीअनुसार बढेका छन्।

तपाईंलाई लाग्छ सरकारले साँच्चिकै अहिलेको अवस्थामा पनि लगानी थप आकर्षित गर्ने खालको वातावरण बनाइरहेको छ?

बजेटले लगानीकर्ता निराश थिए। मौद्रिक नीतिले केही आशा दिएको छ। बैंकमा तरलता थपिएको छ। यसले उद्योगीलाई नयाँ ऊर्जा थपेको छ। यसले नयाँ बाटो पनि देखाएको छ। विगतमा भएका व्यावसायिक भूल सच्याउने मौका पनि मिलेको छ। लकडाउन खुले पनि कोरोना सकिएको छैन। यो समयमा नयाँ लगानी गर्ने वातावरण चाहिँ बनिसकेको छैन।

तर दीर्घकालीन रूपमा लगानी गर्ने वातावरण बन्दै जान्छ भन्ने विश्वास लिइएको छ। नयाँ नयाँ अवसर पनि आएको छ। अर्थतन्त्रलाई हामीले केही माथि उकास्न सकेका छौं। नकारात्मक वातावरणका बिचमा सकारात्मक सोच आएको छ। त्यो नै ठूलो कुरा हो।

तपाईंको विचारमा लगानी बढाउन तथा रोजगारी सिर्जना गर्न सरकारले के गर्नुपर्छ?

अहिलेको अवस्थालाई हेर्ने हो भने बहुमतले पारित भएको सरकार पनि राजनीतिक उथलपुथल भएको छ। आपसी स्वार्थका लागि मिल्न सकेका छैनन्। यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पारेको छ। नयाँ नीति तर्जुमा गर्न या भएका नीति कार्यान्वयन गर्न समस्या पारेको छ। सहजीकरणको वातावरणमा सरकार चुकेको छ।

तपाईं नेपाली काँग्रेसले बनाएको एउटा समितिमा पनि हुनुहुन्छ। त्यो समितिले के काम गरिरहेको छ ?

अहिलेको समयमा नेपालमा हाम्रा युवाको लागि कांग्रेसले लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति बनाएको छ। यसको माध्यमबाट युवालाई जोडेर हामीले गरिखाने बनाउन खोजेका छौं। विदेशमा गएर काम गर्नुका सट्टा यहीँ बसेर काम गर्ने वातावरण समितिले बनाइदिन्छ। कुनै युवाले आफूले गर्न चाहेको व्यवसायलाई सुरूदेखि अन्तिमसम्म सघाउने उद्देश्य समितिको छ।

सेतोपाटी

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here