हमासले इजरायलको जेरुशेलमसहित स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना नभएसम्म हातहतियार नछोड्ने स्पष्ट अडान लिएको छ। गाजामा युद्धविरामका लागि प्रयासहरू भइरहेका बेला हमासले आफ्नो कडा शर्त अघि सारेको हो।
बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय विशेष दूत स्टीभ विट्कफको भनाइको खण्डन गर्दै, हमासले गाजा द्वन्द्व अन्त्यका लागि 'हातहतियार त्याग्नुपर्ने' शर्त अस्वीकार गरेको हो। हमासको भनाइमा गाजामा भएको संघर्ष स्वतन्त्रताको आन्दोलन हो, जसमा आत्मरक्षा र प्रतिरोधको अधिकार कायम रहनुपर्ने उल्लेख गरिएको छ।
यसबीच, बेलायत र केही अरब मुलुकहरूले हमासलाई गाजामा नियन्त्रण छाड्न र शान्ति प्रक्रियामा सहकार्य गर्न आग्रह गरेका छन्। बेलायतले इजरायलले सेप्टेम्बरसम्म शान्तिका सर्तहरू पूरा नगरे स्वतन्त्र प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने चेतावनीसमेत दिएको छ।
यता, इजरायली सेनाले बन्धक मुक्त गर्ने वार्ता असफल भए पुनः आक्रमण गर्ने चेतावनी दिएको छ। गाजामा पछिल्ला साताहरूमा युद्धविराम वार्ता चलिरहेको भए पनि ठोस प्रगति हुन सकेको छैन।
संयुक्त राष्ट्रसङ्घले गाजामा मानवीय संकट अत्यन्तै गम्भीर अवस्थामा पुगेको बताएको छ। खाद्यान्न, औषधि, र सुरक्षित आश्रयको अभावले स्थानीय बासिन्दाहरू अत्यधिक जोखिममा परेका छन्।
गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको थियो। त्यसयता, ६० हजारभन्दा धेरै मानिसको ज्यान गएको र लाखौं विस्थापित भएको अन्तर्राष्ट्रिय निकायहरूले जनाएका छन्।