English Date:
नेपाली समय लोड गर्दै...
aawajnews@gmail.com
पूर्वी नेपालमा भारी वर्षा: उदयपुर, झापा र सिरहामा उच्च सतर्कता, जोखिमयुक्त क्षेत्रमा उद्धार तयारी
Admin
प्रकाशित:
२०८२ श्रावण १८

पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा पछिल्लो २४ घण्टामा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सबैभन्दा धेरै वर्षा उदयपुरको गाईघाटमा मापन गरिएको छ, जहाँ १३४.६ मिलिमिटर पानी परेको छ। यो पछिल्लो २४ घण्टामा देशभरकै सर्वाधिक वर्षा हो।

त्यसैगरी, झापाको अनारमनीमा १२४.२, दमकमा ११७.२, चन्द्रगढीमा १०३.४, र सिरहाको सिरहा हाइड्रोमा १०३ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागको बिहान ९:३० बजेको तथ्याङ्कअनुसार यी क्षेत्रहरूमा अझै पनि वर्षाको सम्भावना कायम रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले आवश्यक परेमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कन्काई नदीको जलस्तर उच्च भएको र आसपासका क्षेत्रलाई सतर्क बनाइएको बताए। साथै, उद्धार, राहत र स्थानान्तरणका लागि तत्काल योजना तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले सुरक्षा निकाय र स्थानीय पालिकासँग समन्वय गरी उच्च जोखिमयुक्त क्षेत्रहरूको अनुगमन भइरहेको र आवश्यक परेमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गरिने बताए।

एशियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिका क्षेत्रमा पर्ने कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने सम्भावना उच्च रहेकोले आयोजनाले आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले जानकारी दिनुभयो।

यसैबीच, सुक्खाग्रस्त मधेश क्षेत्रमा केही दिनयताको वर्षाले राहत पु-याएको छ। सरकारले विपद् संकटग्रस्त घोषणा गरेको यस क्षेत्रमा परेको वर्षाले विशेषगरी कृषकहरूलाई आशा र राहत मिलेको देखिएको छ।

सम्बन्धित समाचार